याङनाम (पाँचथर) । वसुमको आनिसाक्थिम युवा क्लब र हिलिहाङको सिर्जना युवा क्लब यहाँ आयोजित प्रथम याङनाम गोल्डकप २०७९ मा विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको खेलमा हिलिहाङ र वसुम विजयी भएका हुन् ।
पहिलो खेलमा सिर्जना युवा क्लब हिलिहाङले स्पर्धी फालेलुङको ब्वाइज युनियन क्लबलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरी क्वाटरफाइनल यात्रा तय गरेको हो भने वसुमको आनिसाक्थिमले कुम्मायक गाउँपालिकामाथि १-० झिनो गोलअन्तरले पराजित गरेको हो ।
हिलिहाङका लागि कप्तान जमिन लक्सम एक्लैले ४ गोल गरेका थिए । उनी यस प्रतियोगिताको पहिलो ह्याट्रिककर्ता पनि बने । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीमध्ये हिलिहाङ दोस्रो हाफमा आक्रामक बनेको थियो ।
दोस्रो हाफको ४२औँ मिनेटमा गोल गरेका हिलिहाङका कप्तान जमिनले ५३औँ र ५४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । १-० गोलको नतिजामा ब्वाइज युनियनले पेनाल्टीमार्फत गोल गरेर खेलमा फर्किएको थियो । उसका लागि ४४औँ मिनेटमा जेट्ली राईले गोल गरेका थिए ।
तर, हिलिहाङका कप्तान जमिन चम्कँदा फालेलुङ नराम्ररी पराजित हुन पुग्यो । जमिनले नै ५८औँ मिनेटमा थप गोल गरेर सर्वाधिक गोलकर्ता पनि बन्न सफल बने । खेलको म्यान अफ दी म्याच हिलिहाङका कप्तान जमिन बने । उनले नगद १ हजार पाए ।
दोस्रो खेलमा कुम्मायक गाउँपालिकालाई आनिसाक्थिमले १ गोलले नै पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । आनिसाक्थिमका लागि माल्दिन आङ्थुपोको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच भने कुम्मायकका विदेश आङ्देम्वे घोषितहुँदै नगद १ हजार पाउन सफल भए ।
१२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ । प्रतियोगिताको गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजारसहित ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार ५ सय पाउने छ ।
याङनाम फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि बुधबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेल फिदिम स्पोर्टिङ क्लबले नव सुशेली युवा क्लब फालेलुङबीच हुनेछ भने दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग आनिसाक्थिम युवा क्लब वसुमले प्रतिस्पर्धा गर्नेछ ।