बिर्तामोड । झापाको बिर्तामोड १० स्थित सैनिक बजारमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अल इन वान क्लबको आयोजनामा वैशाख ९ देखि १६ गतेसम्म महेन्द्रज्योति माविको खेलमैदानमा प्रथम प्रदेशस्तरीय महिला गोल्डकप हुन लागेको हो ।
आयोजक क्लबले आज बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको छ । प्रतियोगितामा झापा, मोरङ, इलाम, ताप्लेजुङ, सुनसरी, उदयपुर, सप्तरी र धनकुटाको टोली सहभागी हुने आयोजक क्लबका अध्यक्ष कृष्ण योञ्जनले बताए ।
उनका अनुसार आयोजक अल इन वान क्लब सैनिक झापा,डिडब्लुएफ सी धरान सुनसरी, मिक्लाजुङ गाउँपालिका मोरङ, महमाई एकता क्लब इलाम, ताप्लेजुङ महिला फूटबल टीम ताप्लेजुङ, गाईघाट फूटबल क्लब उदयपुर, धनकुटा फूटबल संघ धनकुटा र मधेश प्रदेशको जनकपुर प्रदेशबाट नमो बुद्ध युथ क्लब सप्तरी गरि आठ वटा टिमको सहभागिता रहने छ।
उनका अनुसार प्रतियोगिताको विजेता टीमले २ लाख २ हजार र उपविजेता टीमले १ लाख १ हजार नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र पाउने छन् । त्यस्तै, क्वाटरफाइनल खेलका प्लेयर अफ द म्याचले ३ हजार, सेमिफाइनल खेलका प्लेयर अफ द म्याचले ४ हजार पुरस्कार पाउने भएका छन् । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयलगायत विभिन्न संघसंस्था र सहयोगी हातहरुबाट आर्थिक स्रोत संकलन गरिने योञ्जनले बताए ।
कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर, नगर खेलकुद विकास समिति बिर्तामोडका उपाध्यक्ष सन्तोष गुरुङलगायतले बोल्दै खेलको लागि उर्वर रहेको सैनिकबजारमा यस प्रतियोगिताको आयोजनाले अझ महत्व बढ्ने बताए । कार्यक्रमको संचालन अल इन वान क्लबका सचिव रोशन खरेलले गरेका थिए ।