चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको प्रहरी प्रमुख मल्लले बताए ।
सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउन सकिने एसपी मल्लले बताए । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ ।
रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस-सुन्तली फाउण्डेशनको भनाइ छ ।
कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।
यसैबीच, धुर्मुस-सुन्तली फाण्डेशनले रंगशाला निर्माणको कार्य स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउन्डेसनले तत्कालका लागि निर्माण कार्य स्थगित गरेको त्यसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् ।