झापा । झापाको शिवसताक्षीमा केएनक स्पोर्टिङ्ग क्लबद्वारा आयोजित नगरस्तरीय यु-१५ र अन्तर वडा फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
माइधरस्थित केनके स्पोर्टिङ्ग क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक शिवसताक्षी १० विजयी भएको हो । वडा नम्बर ११ लाई ४-० गोल अन्तरले हराउँदै वडा नम्बर १० विजयी भएको आयोजकले जनाएको छ ।
त्यस्तै, यु-१५ फुटबल प्रतियोगितामा शिवसताक्षी १० लाई ५-० गोलअन्तरले हराउँदै वडा नम्बर ११ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिका नगर प्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षीलाई खेलको माध्यमबाट राष्ट्रिय अन्तरराष्ट्रियस्तरसम्म चिनाउनका लागि यस्ता फुटबल प्रतियोगिताहरु नगरले आफै पनि सञ्चालन गर्दै आएको बताए । नगरभित्रका भाइहरुलाई सानैदेखि खेलप्रति लगाव बनाउन यु-१५ फुटबल पतियोगिताको आयोजना गरेर कुलतमा फस्ने उमेर भएका भाइहरुलाई खेलमा जोड्ने काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । भविष्यमा शिवसताक्षीमा खेलाडीहरुलाई प्रशिक्षण दिइने गरी फुटबल एकाडेमी खोल्नसमेत नगर सकारात्मक रहेको उनको भनाइ थियो ।
प्रतियोगितालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष विष्णुप्रसाद प्रसाई, वडा नम्बर १० का अध्यक्ष हर्क सिगु, नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए ।