झापा । यही जेठ २१ गतेदेखि डोमाला राजवंशी रंगशालामा प्रथम बिर्तामोड गोल्डकप २०७६ फुटबल प्रतियोगिता हुने भएको छ ।

बिर्तामोडकै रेड स्टार एफसीले आयोजना गरेको बिर्तामोड गोल्डकपमा झापा, पाँचथर, इलाम, सुनसरी र मोरङका आठ वटा टिम सहभागी हुने आयोजक क्लबका अध्यक्ष राजकुमार विश्वकर्माले जानकारी दिए ।

बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपमा झापाको जलथल एफसी, मुनाल क्लब, ध्रुवतारा स्पोर्टिङ क्लब दमक र आयोजक, इलामको त्रिवेणी युथ क्लब, पाँचथरको स्वतन्त्र एफसी रानीटार, पाञ्चायन एफसी सुनसरी र विन्दाबासिनी एफसी मोरङले प्रतिस्पर्धा गर्ने भएको छ ।

गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले नगद ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न १९ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताको तयारी अन्तिम पुगेको पनि जानकारी दिइयो ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद तीन हजार पाउने गोल्डकपको सर्वाधिक गोलकर्तालाई ५ हजार दिने आयोजकले घोषणा गरेको छ । त्यस्तै, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पाउँदा खेलकै उत्कृष्ट खेलाडीले नगद १० हजार पाउने आयोजकले घोषणा गरेका छ ।

गतवर्ष जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको क्लबले एक वर्षभित्रमा एउटा फुटबल प्रतियोगिता गराउनुपर्ने प्रशासनको निर्देशन बमोजिम गोल्डकप आयोजना गरिएको सचिव श्रेष्ठले बताए ।

यो क्लबले एक वर्षभित्रमा ४ वटा प्रतियोगिता जितेको छ भने तीन वटामा उपविजेता बनेको क्लबका सदस्य मिलन शंकरले बताए । उनका अनुसार तेस्रो पाथीभरा फुटबल प्रतियोगिता, थेचम्बु गोल्डकप, फिदिम नगर कप र देउमाई गोल्डकपको उपाधि रेड स्टारले जितेको थियो ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब स्थापना भएको बताउँदै क्लबका अध्यक्ष विश्वकर्माले अहिले १७ जना खेलाडीलाई प्रशिक्षण दिइरहेको पनि दाबी गरे ।