दुहबी । झापा फुटबल क्लब यहाँ जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको जितसँगै सेमी समिकरण पूरा भएको छ ।

 

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा झापाले ब्वाइज फुटबल क्लब, इटहरीलाई १-० गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । प्रिक्वाटरमा पनि कठिन जित निकालेर झापा अन्तिम ८ मा प्रवेश पाएकाे टाेली हाे ।

 

भलुवा फुटबल मैदानमा भएको खेलको ७८औं मिनेटमा निखिल तामाङले गरेको एकमात्र गोल झापाली टोलीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता तामाङ नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

 

प्रतियोगिताअन्तरगत आज बुधबारको पहिलो सेमिफाइनल खेल बिरगंज युनाइटेड पर्सा र सलहेश युवा क्लब सिराहाबीच हुनेछ ।

 

गोल्डेन स्टार युथ क्लब दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही जेठ २० गतेका दिन हुनेछ ।