एजेन्सी । आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्याण्ड ले बिजयी सुरुवात गरेको छ । उसले बिहीबार राति सम्पन्न खेलमा चिरपरिचित प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १०४ रनले हरायो ।

लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे ।

जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि १०६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोइन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे ।

बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे । प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।

जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भयो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर, अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो ।

बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए ।