झापा । भोलिदेखि नेपाल रग्बी संघको आयोजनामा इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुँदैछ । यु-२० महिला तथा पुरुष रग्बी प्रतियोगिता हुने भएको हो ।

 

माई नगरपालिकाको शुक्रबारे खेलमैदानमा हुने राष्ट्रिय यु-२० रग्बी प्रतियोगिता सेभेन साइटमा हुनेछ । प्रतियोगितामा हिमालयन टाइगर्स रग्बी क्लब, हेटौडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको महिला र पुरुष गरी १० वटा टीमको सहभागिता रहने आज (बिहीबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

 

सम्मेलनमा बोल्दै रग्बी संघका कोशी प्रदेश अध्यक्ष विनोद कटुवालले प्रतियोगिताको तयारी पूरा भएको जनाए । नेपालमा भर्खरै भित्रिएको रग्बी खेलको विकासको लागि सो प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो । उनले आगामी अगस्ट १९ र २० गते हुने एसियन खेलका लागि यु-२० छनोट प्रतियोगिताका लागि समेत सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

 

प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार पाउने भएका छन् । कार्यक्रममा नेपाल रग्बी संघ झापाका अध्यक्ष महेन्द्र खनाल, संघका केन्द्रीय प्रशासन प्रमुख वासुदेव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

 

२७ गते हुने शनिबार हुने फाइनल खेलको प्रतियोगिता सम्पन्न गर्नका लागि अन्दाजी १३ लाख रुपैयाँ लाग्ने बताइएको छ । रग्बी संघको उदयपुर, झापा, इलाम, मोरङ र सुनसरीमा शाखा रहेको बताइएको छ ।

 

नेपाल रग्बी संघको आयोजना रहने प्रतियोगिताको संयोजन प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघले गर्ने छन् । नेपालले यसअघि २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो ।

 

नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनका साथै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एसिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिसपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।