इलाम । यु-२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका ४ स्थित शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लबलाई र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो ।
बिजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् । प्रतियोगिताको बिजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्बसिं लिम्बु, नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौडाकी पुष्पा खड्का घोषित भइन् । उनीहरुले जनही ५ हजार प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नविन दलार्मी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे ।
नेपाल रग्वी संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेश रग्वी संघ, जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कटारी रग्वी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्वी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु-२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । समापन समारोह नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षता र प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।