बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ वटा प्रदेश र आयोजक समिति गरी ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।
आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा आषिश उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुङ्गाना र ६१ केजीमा पुजा चौधरीले स्वर्ण पदक जिते । त्यसैगरी ४५ केजी तौल समुहकी प्रियङ्का राई र ६५ केजीमाथिकी मेनुका मगरले रजत पदक प्राप्त गरे ।
दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कांस्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समुहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ्ग र ५५ केजी तौल समुहकी सञ्जिवनी कार्कीले स्वर्ण पदक जिते । त्यसैगरी बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुबै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुईवटा स्वर्ण र एउटा कास्य पदक हात पारेको छ । गण्डकीका ५५ केजी तौल समूहका अंकित गुरुङ र ७५ केजीमाथिको तौल समूहका सजल बुढाथोकीले स्वर्ण जिते । त्यसैगरी गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिमरन राईले कास्य पदक प्राप्त गरेकी छन् ।
प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पा¥यो । कोशीका ७५ केजी तौल समूहका राजिब खड्काले स्वर्ण जिते । रजतपदक ७५ केजीमाथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समुहकी सञ्जिता लेप्चा र कातातर्फ करुणा राईले जिते ।
कोशीका ६० केजीका शाहिल घिमिरे र ६१ केजी तौल समूमहमा खेलेकी समिक्षा लेप्चाले कास्य पदक हात पारेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेश ५औं स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौलमाथिकी दिया थापाले स्वर्ण जितेकी हुन् । रजततर्फ ४० केजीकी शुशिला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् ।
सुदुरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै छैटौ स्थानमा रह्यो । सुदूरपश्चिमका लागि ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आषिश सेजुवाल र ६१ केजी तौल समुहकी सोनिया तिरुवाले रजत पदक हात पारे । कास्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ केजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीतर्फ अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङ्गले कास्य पदक प्राप्त गरे ।
स्वर्ण पदक जित्न नसकेको मधेस र कर्णाली प्रदेशले सातौ र आठौ स्थानमा चित्त बुझाए । मधेस प्रदेशले ३ रजत र ३ कास्य जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समुहकी सबिना दियालीले रजत पदक हात पारे । ५० केजीका उज्ज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले नै कास्य पदक प्राप्त गरिन् ।
कर्णाली प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दिप बिकले रजत र ४५ केजी तौल समुहका मिलकुमार राईले कास्य पदक हात पारे । प्रतियोगितामा स्वर्ण पदक विजेताले १० हजार, रजत पदक विजेताले ७ हजार र कास्य पदक विजेताले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरे ।
शनिबारदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र आयोजकको एकसहित ८ टिमको सहभागिता रहेको थियो । देशभरका १२० जनाभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।