ओखलढुंगा । यहाँ जारी मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ओखलढुंगा विजयी हुँदै सेमिफाइनमा प्रवेश गरेको छ । झापालाई हराउँदै ओखलढुंगा सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि नतिजाका लागि सडनडेथसम्म पर्खिनु परेको थियो । ओखलढुंगाले सडनडेथमा ५-४ गोल अन्तरले झापालाई हराएको हो । संघर्षपूर्ण खेलमा झापाले अग्रता लिए पनि इन्ज्युरी समयमा ओखलढुंगाले गोल फर्काएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि नतिजा बराबरी भएपछि सडनडेथबाट निर्णय लिनुपर्यो ।
खेलको ४३औँ मिनेटमा झापाका लागि अभिषेक श्रेष्ठले गोल गरेका थिए । त्यस्तै, खेलको ६९औँ मिनेटमा ओखलढुंगाका राजु सुनुवारले गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच ओखलढुंगाका गोलकिप्पर रेवत मगर भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपकबहादुर केसीले नगद चार हजार र मेडल प्रदान गरे ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।