ओखलढुंगा । इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । उपाधिका लागि दुवै टोली भोलि प्रतिस्पर्धामा उत्रने छन् ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ओखलढुंगामा जारी प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा ओखलढुंगालाई हराउँदै इलामले फाइनल यात्रा तय गरेको हो । इलामले ओखलढुंगालाई १-० को गोल अन्तरले हराएको हो ।
खेलको ३९औँ मिनेटमा इलामका विशाल तामाङले गरेको गोल नै निर्णायक भयो । खेलको म्यान अफ द म्याच गालकर्ता तामाङ भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र दुर्गाबक्स गणका प्रमुख सेनानीले नगद चार हजार र मेडल प्रदान गरे ।
यसैबीच, आजै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा खोटाङलाई हराउँदै संखुवभसभा फाइनलमा प्रवेश गरेको हो । खेलको २५औँ मिनेटमा संखुवभसभाका मन्दिप राईले गोल गर्दै फाइनलसम्मको यात्रा पक्का गरे ।

खेलको म्यान अफ द म्याच गोलकर्ता राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्कीले नगद चार हजार र मेडल प्रदान गरे ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।