झापा- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमारविष्टका अनुसार राखेपको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि-२० सिरिज जित्दा कन्सल्टेन्टका रुपमा कार्यरत थिए ।
पटवाल यसअघि सन् २०१४ को टि-२० विश्वकपमा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षक समेत रहेका थिए ।
पटवालले यसै महिना मात्र मुम्बई टि-२० लिगमा नर्थर्न मुम्बई प्यान्थर्सको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए । पृथ्वी शअको कप्तानीमा रहेको टोलीले उपाधि नै जितेको थियो ।
पटवालको अनुबन्धन कति समयको रहने र त्यसको आर्थिक पाटोबारे भने आज साँझ जानकारी दिइने राखेप स्रोतले जानकारी दियो । यसअघि राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगत टमाटा रहेका थिए ।