झापा । भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुखद अन्त्य गरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानमाथि १-० गोलको जित निकालेको हो ।

 

नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो । खेलको ८०औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बूको पासमा उत्कृष्ट गोल गरे ।

 

दोस्रो हाफमा मैदान प्रवेश गरेका आशिषको यो नेपालका लागि डेब्यु गोल हो । आशिषको गोलबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । पाकिस्तानले पनि केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

 

समूह ‘ए’ मा रहेको नेपालको पहिलो जित हो । तर, नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रह्यो । पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तान पुछारमा रह्यो ।