झापा । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षासमेत भएको छ ।

 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

 

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।