सुनसरी । इलामको रेड हर्ष एफसीलाई पन्छाउँदै आयोजक गोल्डन स्टार क्लब सातौँ भलुवा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलमा इलामलाई ३-२ गोलअन्तरले पन्छाउँदै आयोजकले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि खेलको १९औँ मिनेटमा श्रवण गच्छदारले पहिलो गोल गरेका थिए । ३९औँ मिनेटमा रितिक खड्काले थप गोल गरेर अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २-० ले पछि परेको इलाम लयममा फर्किंदै खेललाई बराबरीमा पुराउन सफल भए पनि जीत भने भएन । इलामका लागि भुवन बस्नेतले खेलका ६९औँ मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे ।

इलामकै दर्शन गुरुङले खेलको ७३औँ मिनेटमा थप गोल गरेर खेललाई २२ को बराबरीमा पुर्याए । यसैबीच, आयोजकका अरुण लिम्बूले ८२औँ मिनेटमा गोल गरेर खेलको स्थिति ३-२ बनाउन सफल भए ।
यसअघि खेलको ५०औँ मिनेटमा इलामले पाएको पेनाल्टी सुटको सदुपयोग हुन नसक्दा पहिलो चरणबाटै बाहिरिनु परेको छ । पासाङ शेर्पाले प्रहार गरेको पेनाल्टी सुट आयोजकका गोलरक्षक सुजित चौधरीले बचाएपछि इलाम निराश बन्यो ।

खेलको म्यान अफ दी म्याच आयोजकका रितिक खड्का घोषित भए । उनले नगद ५ हजार पाए । १० टिम सहभागी गोल्डकपको विजेताले नगद तीन लाख र उपविजेताले नगद एक लाख ५० हजार पाउनेछ ।
शनिबारको पहिलो क्वाटरफाइनल खेल झापाको बिर्तामोड युनाइटेड एफसी र धनकुटाको रारा एफसीबीच हुनेछ ।