काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।

 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए ।

 

तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

 

यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो । २०७८ साल पुस ७ गते सो निर्देशिका जारी भएको थियो । निर्देशिकामा न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेको प्रमाणपत्र अवर्गीकृत गर्ने प्रावधान रहेको थियो ।

 

सोही वर्षको फागुन १७ गते निर्देशिकामा पहिलो संशोधन गरी २०८० सालको एसईईबाट मात्र सो प्रावधान लागू गर्ने व्यवस्था गरियो । २०७९ सालको एसईईका हकमा साबिकको निर्देशिकाबमोजिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिनेछ ।