शनिश्चरे । झापा अर्जुनधाराको ११ वटै वडामा पेभर्स बिछ्याउने काममा कुनै पनि गुणस्तरहीन सामग्रीको प्रयोग नभएको नगरपालिकाले जनाएको छ । स्थानीयकाे गुनासाेपछि नगरपालिकाले ल्याव परीक्षण गराएर स्पष्ट पारेकाे हाे ।

 

११ वटै वडामा पेभर्स बिछ्याउने काम भइरहँदा २ नम्बर वडामा कमसल सामग्री प्रयोग गरिएको गुनासो आएको थियो । अर्जुनधारा २ को सिर्जना चोकदेखि वडा कार्यालय जाने बाटोमा पेभर्स बिछ्याउने काम भइरहेको छ ।

 

नगरको ११ वटै वडामा करिब २९ सय मिटर पेभर्स बिछ्याइँदैछ । पेभर्स बिछ्याउनका लागि बिर्तामोडको सरोज नेबिल जेभीले ३ करोड ७७ लाख १९ हजार ६४७ रुपैयाँमा ठेक्का पाएको छ ।

 

२ नम्बर वडामा भइरहेको काममा प्रश्न उठाइएपछि नगरपालिकाको प्राविधिक टोलीले साउन १ गते ल्याव परीक्षणका लागि नमुना संकलन गरेको थियो । वडाध्यक्ष सिद्धार्थ श्रेष्ठ, इन्जिनियरद्वय निरज अधिकारी, निता नेपाल र स्थानीय बासिन्दाको उपस्थितिमा नमुना संकलन गरिएको थियो ।

 

भारवहन क्षमता मापनका लागि बिर्तामोडको मेची सिभिल इन्जिनियरिङ ल्याब्रोटरीमा ३-३ वटा पेभर्सको २ समूहलाई परीक्षणका लागि गुणस्तर मापन गरिएको इन्जिनियर निता नेपालले बताइन् । परीक्षणका लागि प्राविधिकसँगै सरोकारवाला पनि ल्यावमा पुगेका थिए ।

 

इन्जिनियर नेपालका अनुसार भारवहन क्षमता नतिजा ४० हुनुपर्नेमा ४५ दशमलव ०६ र ६४ दशमलव १६ आएको छ । सोचेभन्दा राम्रो रिपोर्ट आएको प्राविधिकको भनाइ छ ।

 

२ नम्बर वडामा अहिले २५० मिटरमा पेभर्स बिछ्याउने काम भइरहेको छ । ठेकेदार कम्पनीले वैशाख २५ गते गरेको सम्झौतामा कात्तिकमा काम सक्ने उल्लेख छ ।