दमक । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।
दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७-१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६-३ गोलअन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४-१ गोल अन्तरले हरायो । तर, पथरीबाट खेलेका खेलाडी सो क्याम्पसका नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र दर्ता गराएका छन् ।
चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच हुने भए पनि शनिश्चरे नआएपछि महेन्द्र विजयी घोषित भयो । आजको अन्तिम तथा पाँचौँ खेलमा गौरादह कृषि क्याम्पसलाई दमक बहुमुखी क्याम्पस ‘बि’ ले ६-२ गोल अन्तरले हरायो ।
आयोजक स्ववियूका सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दैछन् । दमक ९ को रणभूमि फुटसल कोर्टमा जारी प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।
विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए । प्रतियोगिताको विजेता टिमले नगद एक लाख पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।