दमक । झापाको दमकमा आयोजित प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । काँकरभिट्टामाथि फराकिलो गोलअन्तरमा जित निकाल्दै सुकुनाले उपाधि रक्षा गरेको हो ।
दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टालाई ८-१ को फराकिलो गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।
उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको विधागत पुरस्कारमा सुकुनाका खेलाडीकै दबदबा रह्यो । उत्कृष्ट खेलाडी दिवस राई, उच्च गोलकर्ता अनिश खवास, उत्कृष्ट गोलकिप्पर युकेश राई घोषितहुँदा उत्कृष्ट प्रशिक्षक पनि सुकुनाकै नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।
विजेता तथा उपविजेतालाई आयोजक स्ववियु सभापति सोविम न्यौपाने, दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रवृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको सभापति न्यौपानेले बताए ।