बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित १२ वटा संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण नबुझाएको भन्दै बिर्तामोड नगरपालिकाले कार्वाही गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा शाखाले बुधबार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको हो ।
हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरुमा विराटअर्जुन इङलिस स्कुल, मिडिल प्वाइन्ट इङ्लिस स्कुल, नवोदय फनमिन इङ्लिस स्कुल, सिद्धार्थ शिशु सदन, हिमरेश एजुकेशन एकाडेमी, सनराइज एजुकेशन फाउण्डेशन, बेबी लेण्ड इङ्लिस स्कुल, मंगलदिप एलाईट इङ्लिस स्कुल, हेप्पी किड्स इङ्लिस स्कुल, ग्रिनउड इङ्लिस स्कुल, प्राग्ना इङ्लिस स्कुल र बिर्ता एजुकेशन इङ्लिस स्कुल रहेका छन् ।
बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४६ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । त्यसलाई अटेर गरेपछि बुधबार कार्वाहीको चेतावनीसहितको सूचना नगरपालिकाले प्रकाशित गरेको हो ।
सात दिने म्याद सकिएपछि नगरपालिका कार्वाहीको प्रक्रियामा जाने निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । भण्डारीले भने, ‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।’
यसैबीच, नगरका विद्यालयहरुलाई बारम्बार भन्दै आए पनि अटेर गरेर कतिपय विद्यालयहरुले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताएका छन् ।