इलाम/ देउमाई नगरपालिकालाई हराउँदै करफोकमा आयोजित दोश्रो सूर्योदय मेयरकपको उपाधी मेचीनगर नगरपालिकाले जितेको छ।
फाइनल खेलमा मेचीनगरले देउमाइलाई ३–२ गोल अन्तरले पाखा लगाएको हो। यस वर्षको उपाधीसँगै मेचीनगरले दुवै संस्करणको उपाधी आफ्नो पक्षमा पार्न सफल भएको छ। गतवर्षको पहिलो संस्करणमा आयोजकलाई हराउँदै मेचीनगरले उपाधी जितेको थियो।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता देउमाईले लिएको थियो। गोलरक्षक मनोज श्रेष्ठले डिवक्स बाहिर बल समातेपछि पाएको फ्रिकिकमा खेलको २६औँ मिनटेमा कर्ण लिम्बूले अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिएको खेलको दोश्रो हाफमा ४ गोल भएको थियो।
४३औँ मिनेटमा मेचीनगरका निरज बस्नेतले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ६६औ मिनेटमा देउमाईका डिफेन्डर विकास राईको गल्तीको फाइदा उठाउँदै निशान लिम्बूले वान भर्सेस वानको अवस्थामा मेचीनगरलाई अग्रता दिलाए।
३५औँ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन राईले तेश्रो गोल गरे। ३८औँ मिनेटमा कर्ण लिम्बूले व्यक्तिगत दोश्रो गोल गरे पनि उपाधी दिलाउन सकेनन्।
प्रतियोगिता जितेसँगै डिफेन्डिङ च्याम्पियन मेचीनगरले २ लाख रुपैया र उपविजेता देउमाईले १ लाख रुपैया प्राप्त गर्यो। प्रतियोगितामा ४ गोल गरेका कर्ण लिम्बू र खमिर गिल्सन कन्दङवाले संयुक्तरुपमा नगद ८ हजार प्राप्त गरे।
त्यसैगरी, सर्वोत्कृष्ट गोलरक्षक आयोजकका विशाल थामी र सर्वोत्कृष्ट खेलाडी देउमाईका कप्तान रोहित राई घोषित भए। उनीहरूले जनही ८-८ हजार प्राप्त गरे।
विजेता तथा उपविजेता टिमलाई प्रदेश-१ का सांसद धिरेन्द्र शर्मा र काजीमान कागतेले संयुक्तरुपमा ट्रफी प्रदान गरे। सूर्योदय नगरपालिकाको आयोजनामा गत जेठ ११ गतेबाट संचालित प्रतियोगितामा इलाम र झापाका ९ वटा नगरपालिकाको सहभागीता रहेको थियो।