तेह्रथुम । छथर गाउँपालिकाको केन्द्र छथर शुक्रबारे तेह्रथुममा ऐतिहासिकरुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
खेलकुद र संस्कृति हाम्रो सान, समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने जानकारी दिइयो ।
गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला, संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । प्रतियाेगिता भदाै १२ गतेदेखि हुनेछ भने फाइनल १७ गते हुनेछ ।
मेलाको अवसरमा फुटबल, भलिबल र व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगितातर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार र ट्रफी पाउने छ । त्यस्तै, दोश्रो हुनेले नगद ७५ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
यसैगरी, भलिबल प्रतियोगितातर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार र रनिङ कप पाउँदा दोश्रो हुनेले नगद ७५ हजार कप पाउने छ । त्यस्तै व्याडमिन्टनतर्फ प्रथम हुनेले नगद ४१ हजारसहित अध्यक्ष कप र दोश्रो हुनेले नगद २५ हजारमा चित्त बुझाउनु पर्नेछ ।
आयोजक रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाका अनुसार प्रतियोगितालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समिति गठन गरिएका छन ।