म्याक्स अभय पोखरेल,
झापा । ‘अन्त्य को सुरुवात’ नाम सुन्दै चाखलाग्ने । यो न कुनै संस्था हो न कुनै नारा, यो केवल सामाजिक संजाल मा आफु घुमेको र देखेको ठाउँहरु को तस्बिर अनि त्यहाँ पुग्दा घटेका घटना र त्यस ठाउँको बारे लेख्न खोलिएको एउटा पेज को नाम मात्र हो ।

सुदुर पूर्वको काकड्भिट्टाको कलमबाट लेखिएको यो यात्राको थालनी सुदुर पश्चिम कंचनपुरबाट भएको हो । ४५ दिन का लागि घरबाट केहि ठाउँ घुम्न निस्स्किएको हामी घर पुग्दा २४० दिन भएको थियो अनि हामीले ४२ वटा जिल्लाका एक हजार बढी सानाठूला गाउँ अनि सहर पैदल घुमी सकेका थियौँ । उद्धेश्य बेगर घरबाट निस्केका हामी यात्रा लाई बिश्राम दिदै एउटा उद्धेश्य पुरा गर्ने सोचमा घर फर्कियौँ । प्राकृतिक सुन्दरताले धनी यो देश एउटा ठुलो विश्व बिद्यालय हो जहाँ धेरै कुरा को अध्ययन गर्न सकिन्छ ।

कला, शिक्षा अनि साहित्य को विकास हुनु हो भनी यो देशलाई खाली सजाउन मात्र बाँकी छ । तर, बिडम्बना के हो भने यहाँ सजाउने भन्दा आफ्नो रजाई रजाउने को लडाईले विकाश सँगसँंगै बिनास नि तिब्र गतिमा छ । प्रकृतिको यो देनलाई जोगाएर यसको सदुपयोग गर्न सकियो भने आफ्नै ठाउँ देखिको पनि विकास गर्न सकिन्छ । जसले सिंगो ठाउँ अनि देश लाई नै टेवा पुग्छ भन्ने लाग्यो । देशको सुन्दरतालाई कला र साहित्यसँग जोडी घुम्ने कार्यक्रमको आयोजना गर्न सक्यो भने देशको आर्थक, पर्यटन एवम् कला, साहित्य विकाशमा ठुलो मद्धत पुग्छ भन्ने हाम्रो विश्वासमा हामी अडिक थियौँ ।

काकड्भिट्टा पनि भित्रभित्रै को लडाईमा मस्त छ । बोर्डरको दलालीको मात्र भानौँ या राजनीतिक खिचातानीमा मेरा समाज व्यस्त छ । खोज सकेर फर्केका हामीलाई अलि अध्ययनको कमीका कारणले होला सोचेका उद्धेश्य पुरा भएपनि त्यो सोचिएको खुसी भेटिएन । जाडोमा तराईबासीका हेतुले इलामको सलकपुर देखि सन्दकपुर सम्म ‘विन्टर क्याम्प’ को आयोजनादेखि मनोरजनात्मक म्युजिक फेस्टिवलसम्म को अयोजना पुरा भयो तर सोचेको जति साथ भने पाइएन ।

करिब डेढबर्ष पछि हामी फेरी यात्रामा निस्किएका छौँ, मनको अझै त्यही उद्देश्य छ, आफ्नो देश संसार सामू चिनानौँ । आउदो पर्यटन बर्ष २०२० मा यसको प्रचार एवम् प्रवद्र्धनमा सहयोग होस् भनि यो पटकका लागि भने हामीले प्रदेश १ का १४ जिल्ला भ्रमण गरिरहेको छौँ । भेडेटारबाट चलेको पाइला नेपाल चीन सिमाना किमाथांका देखि मकालु, बरुणको काखसम्म घुमी सक्दा आज पूर्व को यात्रा सुरु गरेको ५३ दिन नाघेछ, नमस्ते झरनाको नमस्तेसँगै सुरु भएको यात्रा हिलेमा तोंग्बाको स्वाद सँगै लालीगुराँसको राजधानी तिर अघि बढेको थियो ।

गत चैत्र २७ देखी हिड्न सुरु गरेका हामीले बसन्तपुर, तेह्रथुममा नयाँ बर्ष मनायौँ, तीनजुरेको पाँचपोखरी हुँदै गुफा पोखरी भएर नुनढाकीबाट चैनपुर निस्कियौँ । खेमराज गुरुङको गीत मा गाइएको जमुनाको फेदमा अवस्थित तुम्लिङ्ग्टार मनकामना भएर संखुवासभा को उत्तरी भेग घुमी सक्दा ५० दिन हिडेको पत्तै भएन ।

कहिँ कतै आर्थिक सहयोग बेगर हिडेका हामी यात्रामा धेरै कुरा झेल्नु परेकोले अझै पनि चाहेँ जति ठाउँहरु कैद गर्न सकेका छैनौँ । प्रदेश सरकार, स्थानीय सरकारसँगै केहि प्रायोजक को सहयोग मिल्ने हो भने सिंगो प्रदेश १ को पैदल यात्रा गरि यसको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल को प्रचारमा थप टेवा पुग्ने हाम्रो विश्वास छ ।