ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता आज (बिहीबार)देखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

 

फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड १९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

यस्तै, पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

 

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी पाउनेछ भने उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र प्यारापिट तयार गरिएको अध्यक्ष गुरुङले बताए ।

 

लाखे जात्रासँगै खेलकुदको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।