ताप्लेजुङ । निर्धारित समय बराबरी खेलेको आयोजकलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै इटहरीको जुट विकास फुटबल एकाडेमीले बाजी मार्दै प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश पाएको छ ।
आजबाट सुरु गोल्डकपमा घरेलु टोली मानाभरा स्पोर्टिङ क्लबलाई ट्राइबेकर ५-४ गोलअन्तरेले हराउँदै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।
खेलको सुरुवाती गोल इटहरीले गरेको थियो । इटहरीका लागि खेलको २५औँ मिनेटमा पाएको फ्रिकिकमा रोहन कार्कीले गोल गरेर अग्रता दिलाए । तर, टाइब्रेकरमा उनको प्रहार भने बाहिरिएको थियो ।
आयोजक मानाभरा युथ स्पोर्टिङ क्लबका लागि दिपक लिम्बूले टोलीलाई बराबरीमा ल्याएका थिए । उनले पनि खेलको ७३औँ मिनेटमा पाएको फ्रिकिकको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

८ टिम सहभागी प्रतियोगिताको भोलि (शुक्रबार) रेडहर्ष स्पोर्टिङ क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन् । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा उक्त गोल्डकप सुरु भएको हो ।
खेलकाे म्यान अफ दी म्याच आयाेजकका कप्तान अनुप मादेन घाेषित भए । उनले नगद ५ हजार पाए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद तीन लाख ११ हजार १११ र एक लाख ११ हजार १११ सहित ट्रफी पाउनेछ ।