झापा । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।

 

यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २३८ रनको फराकिलो अन्तरले हराएको थियो ।

 

हिजो टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २६६ रनमा अलआउट भएको थियो । भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले । पान्ड्याले ८७ र किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३-३ विकेट लिए ।

 

जितका लागि २६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन । भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर, वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।

 

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेशबीच लाहोरमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो ।