फुङलिङ । टाइब्रेकरमा बाजी मार्दै इटहरीको जुट विकास फुटबल एकाडेमी यहाँ जारी प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको पथरी फुटबल क्लबलाई इटहरीले टाइब्रेकरमा पराजित गरेको हो । इटहरी प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।

 

भानुजन माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा इटहरीले ५-४ गोलअन्तरमा पथरीलाई पराजित गरेको हो ।

 

भोलि मंगलबार इलामको रेडहर्ष एफसी र बिर्तामोडको रेड स्टार एफसीले अन्तिम सेमिफाइनल खेल खेल्नेछन् । विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।