काठमाडौं । घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपअन्तर्गत समूह ए को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० को गोल अन्तरले पराजित भएको हो ।

 

पाकिस्तानी मिडफिल्डर अली जफरको उत्कृष्ट गोलको मद्दतले पाकिस्तानले महत्वपूर्ण ३ अंक जोडेको छ । खेलमा नेपालको प्रदर्शन सोचेजस्तो राम्रो हुन सकेन । नेपाल दुई पटककाे च्याम्पियन टाेली हाे ।

 

नेपालको आक्रामण खेल पूरै समय नै फितलो रह्यो । उता पाकिस्तानले भने धेरै अवसरहरु सृजना गरको थियो। पहिलो हाफमा पाकिस्तानको दबाबमा राखे पनि गोल गर्न सकेको थिएन ।

 

पाकिस्तानले नेपालभन्दा बढी अवसरहरू सृजना गर्दै घरेलु टोली नेपाललाई निरन्तर दबाबमा राखेको थियो । तर, नेपालका गोलरक्षक र कप्तान जियारथ शेखले पाकिस्तानलाई गोल गर्नबाट निरन्तर रोकेका थिए ।

 

७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो। अलि जफरले लामो दूरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो।

 

थपिएको समयको पहिलो मिनेटमा आयुष तिम्सिनाको लामो दूरीको प्रहार नै नेपालको बराबरी गर्ने एकमात्र अवसर रहन पुग्यो। नेपालकाे अर्काे खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा हुनेछ। त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३ मा पाकिस्तानको सामना गर्नेछ।