काठमाडौं । नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम खेलमा भुटानमाथि २-१ को पूनरागमन जितसँगै भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

 

भारतको जितमा गुगमसार गोयारी र रिकि हाओबामले समान एक एक गोल गरे । भुटानका लागि भने जिग्ने नामग्येलले एक गोल गरेपनि जित निकाल्न पर्याप्त भएन । खेलमा भुटानले अग्रता लिए पनि जोगाउन सकेको थिएन । जिग्मे नामग्येलले खेलको २०औं मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।

 

तर, भारतले अन्त्यमा जित निकाल्न सफल भयो । भारतका लागि गुगमसार गोयारीले ३६औं मिनेटमा बराबरी गरेका थिए । ६४औं मिनेटमा रिकि हाओबामले गोल गर्दै अग्रता दिलाए । अन्त्यमा त्यही गोल जीतका लागि पर्याप्त भयो।

 

हारका बाबजुत भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। भुटानले पहिलो खेलमा बंगलादेशलाई ४-३ ले हराएको थियो।

 

भुटानले अब सेमिफाइनलमा पाकिस्तानसँग खेल्ने छ। भारतले भने नेपालको सामना गर्नेछ। दुवै सेमिफाइनल बुधबार हुनेछन्। फाइनल शनिबार हुनेछ ।