झापा । केही दिन अघिमात्र अप्रत्याशितरुपमा अष्ट्रेलियातर्फ प्रस्थान गरेका स्टार फरवार्ड बिमल घर्ती मगरले मंसिर ८ गतेदेखि शुरु हुने दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
बिमलले एफसी चितवनका लागि नेपाल सुपर लिग खेल्नेछन् । चितवनले पनि आइकानिक खेलाडीका रुपमा बिमललाई अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।
बिमलले पनि सुपर लिग खेल्ने जानकारी गराउँदै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिन्दगीमा अनेकौ उत्तर चढाव आउँछन । उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र ब्यावहारिकपन पनि बढ्ने रहेछ । त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाँती राखेर अष्ट्रेलिया आउने निधो गरेँ । तर, पनि मलाई माया गरेर पुनः नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’
साथै, बिमलले अन्त्यमा सबै शुभेच्छुक र समर्थकहरुलाई धन्यवाद र आभारसमेत प्रकट गरेका छन् । चितवनको मार्की खेलाडीमा गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् भने मुख्य प्रशिक्षकमा खालिद जमिल रहेका छन् ।