झापा । जलथल एफसी झापाले प्रथम बिर्तामोड गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

रेड स्टार एफसीले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा मोरङको विराटनगर एफसीमाथि टाइब्रेकरमा बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ४–३ गोलको नतिजाबाट जलथल सेमिफाइनल प्रवेश गर्यो ।

निर्धारित समयमा गोलको खडेरी नै लाग्यो । पहिलो शून्य शून्यमा सकिएको थियो । गोलको खाता खोल्न जलथलले दोस्रो हाफको १४औँ मिनेट कुर्नु पर्यो । त्यो पनि विपक्षी खेलाडीको आत्मघाती गोलको उपहारबाट । समग्रमा भाग्यले साथ दिँदा जलथल सेमिफाइनलमा पुगेको हो ।

१–० ले पछि परेको स्थितिमा विराटनगरका लागि सब्सिच्यूट खेलाडी भुवन बस्नेतले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । दोस्रो हाफको २०औँ मिनेटमा अरुण लिम्बूले मिलाइदिएको पासमा भुवनले गोल गरेका थिए ।

तर, टाइब्रेकरमा विराटनगरका खेलाडी चुकेपछि पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो । विराटनगरका दोर्जे तामाङ, मिक्चेत तामाङ र मिलन राईको प्रहारमात्र गोलमा परिणत भयो । मनोज राईको प्रहार विपक्षी गोलरक्षक किशोर गिरीले बचाउ गरे भने राजीव लोप्चनको प्रहार बारमा लाग्दै बाहिरियो ।

जलथलका निरज बस्नेत, दिलन लोक्ताम, अनिल राई र विनोद मेचेको प्रहार गोलमा परिणत हुँदा अभिषेक लिम्बूको प्रहार भने विराटनगरका गोलरक्षक पूर्ण चेम्जोङले बचाएका थिए । खेलको म्यान अफ दी म्याच जलथलका किशोर गिरी घोषित हुँदै नगद ३ हजार पाए । उनलाई शिक्षाप्रेमी नरेशमान धिमालले नगद प्रदान गरे ।

बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले नगद ७५ हजार १११ सहित ट्रफी पाउनेछ ।

बुधबारको खेल सुनसरीको पाञ्चायन एफसी र पाँचथरको स्वतन्त्र फुटबलक्लबीच हुनेछ ।