सुनसरी । सातौँ भलुवा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा विजयी हुँदै काठमाडौँको मदन भण्डारी स्पोर्टिङ एकाडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा भारत सिलिगुडीको रोयल क्लबलाई ५–३ गोलले स्तब्ध पार्दै मदन भण्डारी एकाडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा यानिक ओवानाले गोल गर्दै मदन भण्डारी एकाडेमीलाई अग्रता दिलाएका थिए । तर, सिलिगुडीका लागि अर्मान्डो टिटीले खेलको ४७औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।

खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकाडेमीका गोलरक्षक प्रिसो घोषितहुँदै नगद ५ हजार पाउन सफल भए । बुधबारको पहिलो सेमिफाइनल खेल धनकुटाको रारा एफसी र संयुक्त युवा क्लब सिमरिया सुनसरीबीच हुनेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजारसहित ट्रफी पाउनेछ ।