पाँचथर । छैटौंं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फिदिम ८ ले जितेको छ । फिदिम १ लाई उसकै घरेलु मैदानमा १-० गोलले पाखा लगाउँदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्म खेलमा फिदिम ८ का अर्जुन गुरुङले गरेको गोल नै निणार्यक बन्यो । कर्नर प्रहारबाट आएको पासलाई अर्जुनको वानटच प्रहार गोलमा परिणत भएको थियो ।
फिदिम ८ ले उपाधिसहित नगद ५१ हजार र ट्रफी पाउँदा उपविजेता फिदिम १ ले नगद ३५ हजारमा चित्त बुझायो । विजेता टोली र उपविजेता टोलीलाई नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पुरस्कार प्रदान गरे ।
तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा फिदिम नगरपालिकाका १४ वडाले सहभागिता जनाएका थिए । प्रतियोगिता तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाको अध्यक्षतामा भएको थियो ।
