सुनसरी । यहाँ जारी सातौँ भलुवा गोल्डकपको पहिलो सेमिफाइनल खेलबाट संयुक्त युवा क्लब सिमरिया सुनसरी फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई टाइब्रेकरमा स्तब्ध पार्दै संयुक्तले बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

रारा एफसीका लागि दीपक राईले खेलको १५औँ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि जीतका लागि सम्भव भएन । संयुक्तका मिलन राईले खेलको ४५औँ मिनेटा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद ५ हजार पाउन सफल भए ।

निर्णयका लागि रोजिएको टाइब्रेकरमा संयुक्तले ४–३ गोलअन्तरमा रारालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । संयुक्तका लागि निरज बस्नेत, मिलन राई, दिलेन लोक्ताम र पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो भने इश्वर चौधरीको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए ।

त्यस्तै, रारा एफसीका भुषण सुब्बाको प्रहार बाहिरिएको थियो भने विजय धिमालको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । राराका लागि बुद्ध चेम्जोङ, विवेक पौडेल र मिक्चेन तामाङको प्रहार गोलमा परिणत भएको थियो ।

गोल्डेन स्टार एफसी भलुवाको अयोजनामा भएको यस गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले एक लाख ५० हजारसहित ट्रफी पाउनेछ । बिहीबारको अन्तिम सेमिफाइनल खेल मदन भण्डारी स्पोर्टस् एकाडेमी काठमाडौँ र चारतारे क्लब लेटाङ मोरङबीच हुनेछ ।