एजेन्सी- सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पवेश गरेको छ ।
पोर्टोमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टोमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेल्सन सेमेडोले स्टेभन जुवेरलाई लडाएपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा रिकार्डोले कुनै गल्ती गरेनन् ।
त्यसअघि पोर्चुगलले पेनाल्टी पाएपनि भिएआरको सहायतामा उक्त पेनाल्टी अपिल सफल भएन । ८८औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-१ ले अघि बढाए ।
९०औं मिनेटमा रोनाल्डोको ह्याट्रिक पुरा गर्दै टिमलाई ३-१ को जित दिलाए । ग्राइन्ट जाहाले मिडफिल्डमा लुज गरेको बललाई रोनाल्डोले अघि बढाउदै गोल गरेका थिए ।