इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच हुने भएको छ ।
गोल्डकपको आज सार्वजनिक गरिएको टाइसिटअनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो । माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेडहर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।
माघ १३ गते हुने फाइनल खेलको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने जनाइएको छ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।