शनिश्चरे (झापा) । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा भानु मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

बिहीबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधारा ४ को अर्जुनधारा माविलाई ४-० गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ५ को भानु माविले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

भानु माविका लागि निशान बिकले खेलको १७औँ मिनेटमा गाल गरेर अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा सोहन सुनुवारले गोल गर्दै भानु माविको अग्रता दोब्बर बनाए ।

 

फेरि ४९औँ मिनेटमा निशानले गोल गर भने सोहनले पनि ५३औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तरमा टोलीलाई सेमिफाइनलमा पुराए । निशान म्यान अफ दी म्याच बने । उनलाई झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल र सदस्य टेकराज तिलिङले नगद प्रदान गरे ।

 

प्रतियोगितामा शुक्रबार खुदुनाबारीको जनता माविले चिरपरिचित न्यू होप इङलिस स्कुलसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । पहिलो सेमिफाइनल माघ ७ र अन्तिम सेमिफाइनल ८ गते हुने आयोजकले जनाएको छ ।

 

माघ १५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार र ट्रफी पाउने छ । प्रतियोगितामा सालबारी निवासी अरुणकुमार डाँगीले दिवंगत बुबाको स्मृतिमा आर्थिक सहयोग गरेका छन् ।