शनिश्चरे । झापा अर्जुनधारा ५ को भानु माविले स्व कृष्णप्रसाद डाँगी फुटबल प्रतियोगिताको उपाधि पाएको छ । भानु माविले महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरमावि फुटबलको उपाधि पाएको हो ।

 

साेमबार भएको फाइनल खेलमा शनिश्चरे मावि ७-१ गोलअन्तरले विजयी भएको थियो । तर, खेल नियमावलीविरुद्ध शनिश्चरेले खेलाडी सहभागी गराएपछि शनिश्चरे खेलबाट बाहिरिएको हो ।

 

भानु माविले शनिश्चरे माविका निखिल तामाङ र समिर हेमरमविरुद्ध आयोजकसमक्ष उजुरी गरेको थियो । आयोजक समितिले तीन सदस्यीय छानविन समिति गठन गरेर निर्णय लिएको थियो ।

 

छानविन समितिको संयोजकमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, सदस्यहरुमा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गौतम थिए ।

 

निखिलले २ पटक एसइइ दिइसके पनि असफल भएको र समिर विद्यालयको विद्यार्थी नभएको पाएपछि आयोजकलाई निर्णय पेश गरेको थियो । सोही निर्णयका आधारमा आयोजकले भानु माविलाई विजेता घोषणा गरेको हो ।

 

खेलमा शनिश्चरे माविका लागि निखिलले २ गोल, समिरले ३ गोल, अनुज बाँस्कोटा र आदेश टुडुले समान १-१ गोल गरेका थिए भने भानु माविका निशान विकले १ गोल फर्काएका थिए ।

 

खेलमा सर्वाधिक गोलकर्ता भानु माविका निशान विक, सर्वोत्कृष्ट खेलाडी भानुका सन्तोष कार्की र बेस्ट मिडफिल्डर कार्लोस गिरी भए । उत्कृष्ट रक्षक महारानीगञ्जका सन्तोष खवास बने ।

 

शनिश्चरेका विराज परियार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड आशिष टुडु, फाइनल खेलको उत्कृष्ट खेलाडी शनिश्चरेकै अनुज बाँस्कोटा बने । उनीहरुले जनही १-१ हजार र ट्रफी पाएका छन् ।

 

विजेता भानु माविले नगद २० र उपविजेता शनिश्चरेले नगद १० हजार र ट्रफीमा चित्त बुझाएको छ । तर, आयोजक समितिको निर्णय अस्वीकार गर्दै शनिश्चरे माविले खेल मैदान छाडेर पुरस्कार वितरणमा सहभागिता जनाएन ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा जिल्ला फुटबल संघका अध्यक्ष आले, वडाध्यक्ष इङनाम, प्रायोजक अरुणकुमार डाँगीकी आमा सीतादेवी डाँगीलगायतले उक्त पुरस्कारहरु वितरण गरेका थिए ।

 

सोही कार्यक्रममा हाल अमेरीकामा रहेका प्रायोजक अरुणकुमार डाँगीलाई सम्मान पत्रसहित दोसल्लाबाट सम्मानित गरिएको थियो । उनको सम्मान आमा सीतादेवी डाँगीले ग्रहण गरेकी थिइन् ।