शनिश्चरे । झापाको अर्जुनधारामा आजदेखि १८ वर्षमुनिका (यु १८) स्थानीय खेलाडीबीच वडास्तरीय फुटबल प्रतियोगिता हुँदैछ ।

 

झापा जिल्ला लिग फुटबल च्याम्पियन शनिश्चरे फुटबल क्लबको आयोजनामा यु १८ फुटबल प्रतियोगिता गत वर्षदेखि आयोजना गरिएको हो । खेल अर्जुनधारा रंगशालामा १ बजे सुरू हुने बताइएकाे छ ।

 

स्थानीयस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा ५ ले अर्जुनधारा २ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका टिम सहभागी छन् ।

 

माघ २८ गते हुने फाइनलको विजेताले नगद ५१ हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ । यस वर्ष पुरस्कार राशिमा बृद्धि गरिएकाे प्रतियाेगिताका संयाेजक सुरेन राईले जानकारी दिए ।

 

प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाइ स्कोरर, राइजिङ प्लेयरलगायतका विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने छ ।