झापा । प्रथम बिर्तामोड गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।
अपराह्न ४ बजे हुने खेलमा आयोजक रेड स्टार एफसी बिर्तामोडले पाहुना टोली सुनसरीको पाञ्चायन एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै टोलीमा नाम चलेका खेलाडी रहेका छन् । फाइनल प्रवेशका लागि भिडन्त हुने अन्तिम सेमिफाइनल खेल रोमाञ्चक बन्नेछ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलबाट बिर्तामोडको पूर्वेली युथ एफसीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । हल्दिबारीको जलथल एफसीमाथि १–० गोलको कठिन जीतबाट पूर्वेलीले फाइनल यात्रा तय गरेको हो । उसका लागि पेनाल्टीमार्फत विक्की चौधरीले गोल गरेका थिए ।
मंगलबार हुने गोल्डकपको फाइनल विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले नगद ७५ हजार १११ सहित ट्रफी पाउनेछ ।