शनिश्चरे । झापाको बाहुनडाँगी युथ क्लब झापा जिल्लास्तरीय बी डिभिजन लिग च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।

 

बी डिभिजनबाट बढुवा भएको दुवै टोलीको आज फाइनल प्रतिस्पर्धा भएको थियो । जसमा बाहुनडाँगीले ३-२ गोलअन्तरले बिर्तामोडलाई पराजित गरेको हो ।

 

बिर्तामोडले सुरुवाती अग्रता लिएको थियो । तर, बिर्तामोडको अग्रता त्यति धेरै टिक्न सकेन । बिर्तामोडका लागि सुजन विश्वकर्माले खेलको २ मिनेटमै अग्रता दिलाएका थिए ।

 

तर, बाहुनडाँगीका रिक्की प्रधानले १४औँ मिनेटमा बराबरी गोल फर्काए । फेरि ३१औँ मिनेटमा नगरेन्द्र खत्रीले गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा बिर्तामोडका रोशन गुरुङले आत्मघाती गोल गर्दा बाहुनडाँगी फेरि खेलमा फर्कियो ।

 

बाहुनडाँगीका लागि निर्णायक गोल दोस्रो हाफको १४औँ मिनेटमा रिक्की प्रधानले गरे । उनी प्लेयर अफ दी म्याच र प्लेयर अफ दी टुर्नामेन्ट बन्दै नगद पुरस्कार पाउन सफल भए ।

 

यसैगरी, सर्वाधिक गोलकर्ता बिर्तामोडका सुजन विश्वकर्मा, उत्कृष्ट गोलरक्षक वाहुनडाँगीका अभिषेक लिम्बू र उत्कृष्ट प्रशिक्षक बाहुनडाँगीकै विमलराज पाण्डे बने ।

 

उपविजेतामा समेटिएको बिर्तामोडले नगद १५ हजारमा चित्त बुझायो भने च्याम्पियन टोली बाहुनडाँगीले उपाधिसहित नगद ३० हजार पायो । उनीहरुलाई पूर्व प्रदेश सांसद बृख प्रधान, झापा जिल्ला फुटबलसंघका अध्यक्ष भगिरथ आले मामा, उपाध्यक्ष मनेष दाहाल, कोषाध्यक्ष भुपेन लिम्बू, सदस्य टेकराज तिलिङ, अमिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।