झापा । पूर्वेली युथ फुटबल क्लब बिर्तामोडले प्रथम बिर्तामोड गोल्डकपको उपाधि जित्दा मिडफिल्डर योगेश गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
गोल्डकपमा सहभागी अन्य सात टिमका स्टारर खेलाडीलाई पछि पार्दै योगेशले सर्वोत्कृष्ट खेलाडीको उपाधिसँगै नगद १० हजार जितेका हुन् । उनको टिम पूर्वेली युथ एफसीले गोल्डकपको उपाधिसँगै नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी हात पार्यो ।

त्यस्तै, उसकै टिमका निशान्त खड्का बेस्ट डिफेन्स घोषित भएर नगद ५ हजारसहित ट्रफी पाउन सफल भए ।

पूर्वेलीकै गोलरक्षक अभिषेक बरालले बेस्ट गोलकिपरको उपाधि जित्दै नगद ५ हजार पाए ।

त्यस्तै, प्रशिक्षक दिनेश चौधरीले पूर्वेलीका तर्फबाट बेस्ट कोचको उपाधिसँगै नगद ५ हजार पाए ।

उपविजेतामा सीमित पाञ्चायन एफसी सुनसरीले नगद ७५ हजार १११ रुपैयाँमा चित्त बुझाउँदा उसका मिडफिल्डर तीर्थ बस्नेत उत्कृष्ट घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए ।

फाइनल खेलको म्यान अफ दी म्याच पूर्वेली युथका सुमिन मैनाली घोषित भएर नगद ३ हजार पाउन सफल भए । फाइनल खेलमा उनको एक गोल मद्दतले पूर्वेलीले उपाधि रक्षा गरेको हो ।

आयोजक रेड स्टार फुटबल क्लबका गोलरक्षक सौरभ गुरुङ राइजिङ प्लेयर घोषितहुँदै नगद ५ हजार पाउन सफल भए । गोल्डकपमा पहिलो ह्याट्रिक गरेका आयोजक रेड स्टार एफसीका शक्ति राई सर्वाधिक गोलकर्ता घोषितहुँदै नगद ५ हजारबाट पुरस्कृत भए । उनी अनुपस्थित भएकाले पुरस्कार क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठले ग्रहण गरे ।
