काठमाण्डौ । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१८ ले हरायो । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ । माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिता सकाएको छ ।
यस्तै आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल पर्सि बुधबार बेलुकी ५ बजे शुरू हुनेछ ।