काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कीर्तिमानी जित निकालेको छ । रोयल्सको कीर्तिमानी जित निकाल्दा विराटनगर किङ्सले लज्जास्पद हार बेहोरको छ।
मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९२ रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो।
जितसँगै सुदूरपश्चिमले डेब्यु खेलमै दुई अंक जोडेको छ। विराटनगर भने अघिल्लो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटले पराजित भएको थियो।
विराटनगरका बसिर अहमद र राजेश पुलामीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २८ बल खेलेका बसिरले दुई चौकासहित सर्वाधिक २४ रन बनाए। राजेशले १५ बलमा एक छक्कासहित १५ रन बनाए।
सुदूरपश्चिम डेथ ओभर स्पेलिस्ट अभिनास बोहोरा र स्कट कुग्गेलिजनले समान तीन विकेट लिए। अविनासले तीन ओभरमा १७ रन दिँदै उत्कृष्ट प्रदर्शन देखाए। स्कटले चार ओभरमा ३० रन खर्चिए। ब्रान्डन म्याकमुलन र सैफ जैबको नाममा समान एक विकेट रह्यो।