एजेन्सी- यतिबेला खेल जगतका दुई ठूला स्पर्धा चलिरहेको छ । पहिलो इंगल्याण्डमा क्रिकेट विश्वकप र दोस्रो फ्रान्समा महिलाको फुटबल विश्वकप ।

महिला फुटबल विश्वकपमा २७ वर्षकी एक खेलाडी निकै चर्चामा छिन् । चिलीकी गोलकिपर क्रिश्चियन एन्डलर आफ्नो खेलका कारण निकै प्रशंसा बटुलिरहेकी छिन् ।

आइतबार उनी अमेरिकाविरुद्ध आफ्नो टिमलाई ३-० ले हार्नबाट रोक्न त सकिनन् तर आफ्नो प्रदर्शनले भने विशेष छाप छोड्न सफल भइन् ।

बीबीसीका कमेन्टेटर जोनाथन पियर्सका अनुसार यो म्याचमा एन्डलरले महिला विश्वकप इतिहासको सम्भवतः सर्वश्रेष्ठ गोल बचाइन् । तर, उनको खेलको प्रशंसा पत्रकारले मात्र गरिरहेका छैनन् ।

अमेरिकी टिमका प्राविधिक निर्देशकले भने, ‘क्रिश्चियन एन्डलरले उत्कृष्ट खेल खेलिन् । हामीलाई उनको क्षमता थाहा छ । उनी विश्व स्तरकी गोलकिपर हुन् ।’

को हुन् क्रिश्चियन एन्डलर ?

एन्डलर फ्रेन्च पेरिस सेन्ट जर्मेनका लागि खेल्छिन् । उनी स्यान्टियागोमा जन्मिएकी थिइन् र उनले १६ वर्षको उमेरदेखि नै चिलीको राष्ट्रिय टिमका लागि खेल्न सुरु गरेकी थिइन् ।

पेरिसअघि उनले अमेरिका, इंगल्याण्ड र स्पेनमा भएको टुर्नामेन्टमा खेलिसकेकी छिन् ।

उनले सन् २०१२ मा चिली कोलो कोलोसँग कोपा लिबर्टडोरेस जितिन् । तयसपछि उनले चिलीको सर्वश्रेष्ठ फुटबलरको रुपमा पाँचपटक मान्यता पाइसकेकी छिन् ।

खेलपछि एन्डलरले भनिन्, ‘हामी हारेकोमा मलाई निकै दुःख लागेको छ तर आफ्नो प्रदर्शनका लागि म खुसी छु । हारका लागि मिश्रित समवेदना पाएकी छु । तर खेल्न पाएकोमा म सन्तुष्ट छु विशेषगरी यहाँ यो स्टेडियममा जुन मेरो घर हो ।’

विश्वकपसम्म पुग्नका लागि र यस्तो प्रदर्शनका लागि आफूले अत्यधिक मेहनत गरेको उनले बताइन् ।

आइतबार अमेरिकासँग भएको खेल हेरेपछि प्रसिद्ध पूर्व अमेरिकी खेलाडी एलेक्सी लालसले भनिन्, ‘एन्डलर विश्वकी उत्कृष्ट गोलकिपर हुन् ।’ खेलाडीबाहेक उनको खेलले विभिन्न स्थानमा प्रशंसा पाएको छ ।

न्यूयोर्क टाइम्सले आफ्नो रिपोर्टमा लेख्यो, ‘चिलीकी गोलकिपर क्रिश्चियन एन्डलरका कारण नै चिलीको टिमले त्यति ठूलो हारको सामना गर्नुपरेन जति ठूलो हार अमेरिकाले थाइल्याण्डलाई दिएको थियो ।’ अमेरिकाले थाइल्याण्डलाई १३-० ले हराएको थियो ।

अमेरिकाले पछिल्लो तीन फिफा वर्ल्ड कप आफ्नो नाममा गरिसकेको छ । अमेरिकाको महिला फुटबल टिम विश्वको उत्कृष्ट टिममध्येको एक हो । एन्डलरलाई ‘प्लेयर अफ द गेम’ मा उपाधि दिइयो ।

यसबारे एन्डलरले भनिन्, ‘खेलको परिणामका बावजूद यो उपाधि हासिल गर्नु एउटा ठूलो उपलब्धि हो ।’