गाईघाट । रुपन्देहीको गोर्खा ब्वाइज क्लब छैटौँ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा काठमाडौँको सिएमजी संकटा क्लबलाई २-१ गोलले पराजित गर्दै गोर्खा ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

गोर्खा ब्वाइजका लागि विदेशी खेलाडी फोफोनाले खेलको ५७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उसैको अर्का विदेशी खेलाडी डेनिलले ६५औँ मिनेटमा गोल गरेर खेललाई २-० को स्थितिमा पुराएका थिए ।

संकटाका लागि भने अजिततामाङले सान्त्वना गोल फर्काए । २-० ले पछि परेको अवस्थामा अजितले खेलको ९०+४ मिनेटमा गोल गरे तर जीतका लागि सम्भव भएन ।

खेलको म्यान अफ दी म्याच गोर्खा ब्वाइजका फोफोना घोषित भए । उनले नगद ७ हजार पुरस्कारस्वरुप पाए ।

स्थानीय थरुहट रंगशालामा बुधबारबार सशस्त्र प्रहरीको एपीएफ टिमले मोरङ फुटबल एकाडेमीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।