गाईघाट । उदयपुरमा जारी छैटौँ उदयपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ टिम फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल एकाडेमीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएपको जीतका लागि २-० गोल नै पर्याप्त रह्यो ।

खेलमा पहिलो हाफको ११ मिनेटमा हरि कार्कीले गोल गरेर अग्रता दिलाएका थिए । मोरङमाथि हाबी एपीएफका प्रविण स्याङतेनले खेलको ४५औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पानी परेर मैदान हिलाम्मे हुँदा खेलाडीले सहजरुपमा खेल्न सकेका थिएनन् ।

खेलको म्यान अफ दी म्याच एपीएफका पहिलो गोलकर्ता हरि कार्की घोषित भए । उनले नगद ७ हजार पुरस्कारस्वरुप पाए ।
स्थानीय थरुहट रंगशालामा बिहीबार आयोजक आयोजक उदयपुर एफसीले गोर्खा ब्वाइज क्लब रुपन्देहीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।