झापा । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ ।

 

अहिले लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भूभागको पहाडी क्षेत्रका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

 

यस्तै गण्डकी, लुम्बिनी, बागमतीलगायत सबै प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको मौसमविद् हरिप्रसाद दाहालले बताए ।

 

यस्तै, आज उच्च पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।