बिर्तामोड । चालु आर्थिक वर्षमा ४१८ जनाले आफ्नो मोबाइल हराएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । त्यसमध्ये ८९ वटा मोबाइल खोजेर बिर्तामोड प्रहरीले सम्बन्धित मोबाइल धनीलाई बुझाइएको छ ।

 

आज २७ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । उनले यसअघि ६२ जनालाई हराएको मोबाइल खोजेर फिर्ता गरिएको जानकारी दिए । दुईवटा आइफोनसहित सामसुङ, रेड मी, भीभोलगायत मोडलका मोबाइलहरु फेला पारेर फिर्ता गरिएको श्रेष्ठको भनाई छ ।

 

हराएको मोबाइल फिर्ता पाउनेहरुमा बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, कन्काई, विराटनगर, झापा गाउँपालिका र जोगमाई इलामका रहेका छन् । अत्यधिक रुपमा मोबाइल हराउन थालेपछि प्रहरीले त्यससम्बन्धी निवेदन लिन प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरलाई जिम्मेवारी दिएको छ ।

 

प्रहरीले आईएमइआई नम्बरको आधारमा ट्रयाकिङ गरी हराएको मोबाइल पत्ता लगाउने गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । हराएको मोबाइल खोजी गरेर दिने र चोरी गरेको भए त्यहीअनुसारको कानुनी कार्वाही गर्ने गरिएको उनको भनाई छ । ८९ जनामध्ये एकजना मोबाइल धनीले आफ्नो मोबाइल चोरी भएको बताएपछि फिर्ता गर्ने व्यक्तिमाथि चोरी मुद्दा दर्ता गरिएको बताइएको छ ।